I CAN’T BREATHE!

आजकोकुरा: जेष्ठ २७, काठमाडौ ।
धिरज रायमाझी, सिंगापुरI

  I CAN’T BREATHE !                                                    “I can’t breathe!”
“I can’t breathe!”
George Floyd, तिमी निकै छट्पटायौ,
निर्जिव हुँदै गईरहेको तिम्रो शरीर,
निर्जिव भईसकेको त्यो पुलिसको अमानवीय घुँडा
तिम्रो घाँटिमा झन झन धस्सिदा,
“I can’t breathe” बाहेक तिमीले केही भन्नै सकेनौ,
छट्पटायौ,
एक-एक चिम्टी सासको लागि तड्पियौ,
अनि हार खायौ।
तिमी लास भयौ,
अनि तिमी लास मात्र भएनौ,
एक झिल्का भयौ
र वर्षौदेखि थिग्रीएका,
दबिएका अनि स्वंम दबाईएका,
बेवस्ता गरिएका दमित आवाजहरु –
ती परालका चाङ्गहरु –
तिमीले व्हार्व्हार्ती आगो लगाईदियौ,
ती अब भुसभित्रका आगा रहेनन्,
ती त खुब जले,
खुब प्रकाश अनि रापका साथ बले, बल्दैछन्,
डढेलोझैं फैलिए, फैलिदैछन्,
अनि चारैतिर तिम्रो मृत्यु अघिको रोदन
शक्तिमा बदलिंदै
मुटु छेड्ने नारा बने, बन्दैछन्,
“I can’t breathe! I can’t breathe!”
आधुनिक युगमा पनि तिमीले
आफ्नै पुर्खाको नियती भोग्यौ!
कस्तो बिडम्बना!
जातिय भेदको, हिंसाको अनेकौ अमानवीय श्रृङखलामा
एउटा अर्को दु:खद शृङ्खला भई जोडियौ।
तिमी तस्विर भई झुन्डियौ,
भित्ता भित्तामा पोतियौ,
ती अनेक अश्वेत मानिसहरुको लहरमा उभियौ,
जसलाई मुर्दा बनाईए,
श्वेत श्रेष्ठताको अहंकारले,
तर तिमी एक व्यक्ती मात्र रहेनौ,
तिमी एक आन्दोलन बन्यौ,
एक नयाँ क्रान्ति बन्दैछौ।

“I can’t breathe!”
Floyd तिम्रो पुकार अहिले सबैले सुने
“I can’t breathe”
“I can’t breathe”
तिमीले मात्र भनेनौ Floyd,
अफशोस् कि यो दुनियामा अरु धेरैले भने,
मौनतामा भने, भनेर गए,
चित्कारमा भने, भनेर गए,
अडिन नसकेको आँशुमा भने, भनेर गए,
बाध्यताको हाँसोमा भने, भनेर गए,
यहाँ धेरैले नै भने “I can’t breathe!”
हो निकै धेरैले भने।
मेरै देशमा हेर न,
सहरमा जीवन खोज्दै गरेको मधेशिमुल नेपाली
“धोती, भेले, मदिशे, भैया” भनि चिन्हित गरिँदा
उनिहरुको आत्मसम्मानले भन्दैन के
I can’t breathe”?
या भेरीमा बगाईएको नवराजको लासलाई हेर,
पानीको एक एक सास फेर्दा,
हलुको हुँदै गएको उसको ज्यानले भनेन होला के
I can’t breathe”?
अनेकौ थुप्रै तिमीजस्तै थिए यहाँ
जसले अवश्य नै भने “I can’t breathe”
तर उनीहरु केवल समोसाको तेल लागेको
च्यातिएको पत्रीकाको एक टुक्राको
एउटा कुनाको समाचार मात्रै रहे,
उनीहरु अदृश्य भए,
तिमी दृश्य भयौ,
उनीहरु झिल्का बनेनन्,
जुन तिमी बन्यौ,
सायद तिम्रा मान्छेहरुमा
संवेदनाको, सहनाशीलताको गाग्रो
पिँधसम्म भरिएको थियो होला,
Floyd तिमी त्यो अन्तिम थोपा बनी झर्यौ
जसले गाग्रोको पानी पुरै छ्चल्काईदियौ।
मेरो यहाँ मान्छेहरुसँग
त्यो गाग्रो निकै गहिरो छ सायद,
जसको भरिने कुनै ठेगान छैन,
सायद कहिले भरिने पनि छैन।।

LEAVE A REPLY