कविशिरोमणि लेखनाथ पौड्यालको १३६ औँ जन्मजयन्तीमा प्रवचन

0
44

आजकोकुरा: पुस १६, काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा कविशिरोमणि लेखनाथ पौड्यालको १३६आँं जन्मजयन्ती प्रज्ञा भवनमा प्रवचन कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
प्रमुख अतिथि वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले कार्यक्रमलाई सम्बोधन गर्दै “नेपाली साहित्यमा भानुभक्त र मोतीरामपछि उदाएका पौड्यालको योगदान विशेष गरी कविता विधामा उल्लेखनीय रहेको छ ” भने । उनले ६५ वर्षअघि हालको सैनिक मञ्च रहेको टुँडिखेलमा नेपाली शिक्षा परिषद्को आयोजनामा कविशिरोमणिको भव्य नागरिक रथारोहण गरिएको स्मरण गर्दै त्यो रथारोहण नेपालकै साहित्यिक इतिहासमा पहिलो पटक भएको पनि बताए ।
साथै जोशीले ” नेपाली कवितासाहित्यको उन्नयनमा पौड्यालले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उबेला नै लेखनाथ पौड्यालले साहित्यमन्दिरको अवधारणा ल्याउनुभएको थियो, उहाँको सपना २०१४ सालमा नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापना भएपछि साकार भयो ” भन्दै राष्ट्र निर्माणमा साहित्यकारले खेलेको भूमिकालाई अवमूल्यन गर्न नहुने धारणा राखे ।
यसैगरी नेपाल प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपति एवम् कार्यक्रमका सभापति सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले कविशिरोमणि लेखनाथ पौड्यालले लेखेका कविता नेपालीकविता साहित्यमा लालित्य र परिस्कृतिका हिसाबले अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट रहेको दाबी गर्दै उनले “लेखनाथको तरुणतपसी काव्यकृतिलाई भाव नमर्ने गरी अङ्ग्रेजीमा राम्रो अनुवाद गराएर पठाएको भए नोबेल पुरस्कार पाउन सक्थ्यो ” भने ।
कार्यक्रमका संयोजक एवम् नेपाल प्रज्ञा–प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले स्वागत मन्तव्यका साथै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै “कविशिरोमणि लेखनाथ पौड्याल युगचेतना भएका कवि हुनुहुन्थ्यो । उहाँका रचनामा अध्यात्म, मानवता, सामाजिकताका साथै सांस्कृतिक रूपान्तरणका सन्देश पाइन्छन् । उहाँलाई सांस्कृतिक रूपान्तरणका काव्यिक अभियन्तासमेत भन्न सकिन्छ । पौड्याल नेपाली काव्यसाहित्यको परिष्कारवादी धाराका थालनीकर्ता, आधुनिक युगको जन्मदाता, आध्यात्मिक तथा सांस्कृतिक पुनर्जागरण ल्याउने आध्यात्मिक एवम् मानवतावादी कविका रुपमा नेपाली साहित्यमा अमर रहेको छ ” बताए ।
कार्यक्रममा कविशिरोमणिबारे विशेष प्रवचन दिँदै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति प्रा.डा. वासुदेव त्रिपाठीले कविशिरोमणि पौड्याल नेपाली काव्यसाहित्यलाई विश्वस्तरमा उठाउने कवि भएको दाबी गरे ।
कार्यक्रममा वरिष्ठ पत्रकार तथा साहित्यकार भैरव रिसालले कविशिरोमणि पौड्याल निकै चलाख र चातुर्य व्यक्ति भएको आफूले बुझेको बताए !
कार्यक्रममा कविशिरोमणिका काव्यसिर्जनासमेत वाचन गरिएको थियो । कविहरू लक्ष्मी गौतमले सत्य सन्देश, रञ्जना आत्रेयले चरीको विलाप, देवु लुइटेलले वसन्त कोकिल, रुपक अलङ्कारले धनमहिमा र बुद्धि तिमल्सिनाले कालमहिमा वाचन गरेका थिए ।
वि.सं. १९४१ पुस १५ गते कास्की जिल्लाको अर्घौंअर्चलेमा पौष शुक्ल एकादशीका दिन जन्मिनुभएका पौड्यालको निधन २०२२ साल फागुन ७ गते ८१ वर्षको उमेरमा चितवनको देवघाटमा भएको थियो । उनका ऋतुविचार (खण्डकाव्य), वुद्धिविनोद (कविताकृति), सत्यकलि संवाद (कविताकृति), सत्यस्मृति, मेरो राम, त्याग र उदयको सन्देश, गीताञ्जली (कविताकृति), तरुण तपसी (नव्यकाव्य), लक्ष्मीपूजा (नाटक), गौरीगौरव (नाटक), लालित्य (कविता कृति दुई भागसम्म) आदि प्रकाशित छन् ।

LEAVE A REPLY