दाङका केही स्थानीय तहले तलब खुवाउन सकेन

0
38

आजकोकुरा: असोज १८ दाङ । दाङका केही स्थानीय तहले तलब खुवाउन नसक्दा अहिले शिक्षक तथा कर्मचारीहरुको दशैं नरमाइलो खल्लो भएको छ । गढवा गाउँपालिकाका शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरुले दशैंको षष्ठीसम्म पनि तलब पाएका छैनन् । फूलपातीबाट त सार्वजनिक विदा नै हुने भएकाले अब उनीहरुले दशैंमा तलब भत्ता पाउने सम्भावना छैन ।

गढवा गाउँपालिका उपाध्यक्ष शान्ति चौधरीले ‘कोसिस गर्दागर्दै पनि सकिएन,दशैंलगत्तै सबैलाई तलब खुवाउँछौं ‘ भनिन्।

यस गढवा गाउँपालिकामा करिब २८ सरकारी विद्यालयमा ३ सय जति शिक्षक कार्यरत छन् । शिक्षकहरुले चौमासिक (चार महिनाको एकमुष्ट) तलब बुझ्ने गरेका छन् । यो दशैंको बेला एक महिनाको तलब बराबरको भत्ता पनि थपिन्छ । तर, यसपाली बैंक खातामा पैसा नआएपछि शिक्षक तथा कर्मचारीहरु निराश भएका छन् ।

उपाध्यक्ष चौधरीले बताए अनुसार यो गढवा गाउँपालिका अध्यक्ष सहजराम यादव बिरामी भएर करिब दुई हप्तादेखि बुटवलको एक अस्पतालमा भर्ना भएका छन् । अध्यक्षको अनुपस्थितिमा आफूले धेरै दौडधूप गरेर तलब निकासा गराएको तर हिसाब किताब मिलान गरेर बैंक खातामा तलब राखिदिन समय अभाव भएको हो ।
साथै उनले ‘पाँच-पाँच पटक घोराही आउनेजाने गरेर कोलेनिकाबाट बजेट निकासा गराउन पनि सफल भइयो, लेखाका हाकिमलाई पनि अब तलब खुवाउनुस् भनें, तर काम गर्दागर्दै समय पुगेन ‘भनिन् ।

तर,तलब खुवाउन नसक्नुको कारण ‘समय अभाव’ भने पनि वास्तविक कारण जनप्रतिनिधिबीचको लफडा भएको कर्मचारी बताउँछन् । बजेट बाँडफाँटमा जनप्रतिनिधिबीच विवाद हुँदा रातो किताब प्रकाशनमा ढिलाइ भएकाले तलब निकासामा पनि ढिलाइ भएको हो ।

यसैगरी,गढवा गाउँपालिकाका शिक्षा अधिकृत श्याम विकले पनि बजेट निकासामा ढिलाइ भएकाले सबैलाई तलब खुवाउन नसकिएको बताए । शिक्षकहरुलाई भने ७५ प्रतिशत तलब दिइएको उनले बताएका छन् !

LEAVE A REPLY