पुरानो केन्द्रीय कारागारमा अब ‘भिडियो कन्फरेन्स हल’

0
32

आजकोकुरा: भदौ २१काठमाडौं । मुलुकको सबैभन्दा पुरानो कारागारको रुपमा रहेको केन्द्रीय कारागारमा अब ‘भिडियो कन्फरेन्स हल’ निर्माण भएको छ ।
यस कारागारभित्र रहेका कैदीबन्दीलाई अदालतमा उपस्थित नै नगराई भिडियो कन्फरेन्समार्फत वकीलले वयान लिन पाउने गरी यो कन्फरेन्स हल निर्माण गरिएको हो ।

केन्द्रीय कारागारका कारागार प्रमुख लक्ष्मीप्रसाद सापकोटाका अनुसार भिडियो कन्फरेन्सिङ सेवाको शुरुआतसँगै सम्बन्धित कैदीबन्दीले कारागारभित्रबाटै अदालतमा भिडियोमार्फत वकिलसमक्ष बयान दिन पाउने छन् ।
सापकोटाले ‘ सबै अदालतमा उक्त सेवा शुरु भएपछि कारागारभित्र रहेको भिडियो कन्फरेन्स सेवाको सुरुआत हुन्छ ’ भने ।
कारागार व्यवस्थापन विभागले सबै कारागारमा सिसी क्यामरा र विद्युतीय हाजिरको शुरुआत गरेको,साथै केन्द्रीय कारागार, डिल्लीबजार, नख्खु, महोत्तरी, झुम्का सुनसरी, सङ्खुवासभा, तुल्सीपुर, रामेछाप र इलाम कारागारमा भिडियो कन्फरेन्सिङ सेवा जडान गरेको छ ।
विभागका सूचना अधिकारी वासुदेव घिमिरेले सबै कारागारमा भिडियो कन्फरेन्स सेवा जडान गर्ने पनि विभागको योजना रहेको बताए ।
वि.सं. १९७१ मा स्थापना भएको केन्द्रीय कारागारमा हाल तीन हजार १२९ कैदीबन्दी रहेका छन् । उक्त कारागारभित्र केन्द्र, भद्र र महिला जेल रहेका छन् ।
कारागार प्रमुख सापकोटाले केन्द्रमा एक हजार ९१०, भद्रमा ८३२, महिला जेलमा ३७८ र चार नाबालक रहेको पनि जानकारी दिए ।

LEAVE A REPLY