पहिचान सहित १० +१ प्रदेश लगायत माग राख्दै संघीय गठबन्धनको आन्दोलन घोषणा

आजकोकुरा: असार २७, काठमाडौं ।पहिचानमा आधारित संघीय गठबन्धनद्वारा वर्तमान संविधान पहिचान विरोधी भएकोले संशोधन गराउन साथै राजनीतिक बिद्रोहलाई अपराधिक घटना बनाई जेलमा रहेका रेशम चौधरीसहित ११ जनालाई जेलबाट मुक्त गराउन शसक्त आन्दोलनको घोषणा गरेका छन् ।
काठमाडौंको अनामनगर स्थित संवाद डबलीमा शनिबार पत्रकार सम्मेलन नै गरी सो गठबन्धनले आफ्ना मागहरु सरकारद्वारा संवोधन गर्न आनाकानी गरेकाले असोज ३ गते संविधान जलाउने र अझै अटेर गरे कडारुपले अघि बढ्ने चेतावनी दिएका छन् ।
सो गठबन्धनमा आबद्ध थरुहट थारुवान राष्ट्रिय मोर्चा संयोजक लक्ष्मण थारुले सांसद रेशम चौधरीसहितका ११ जनालाई अझै पनि सरकारले अपराधि बनाएर कैदमा राखेकोले उनिहरुलाई निसर्त रिहाई गर्नु पर्ने बताए । कोरोना जस्तो महासंकटमा पनि भ्रष्ट, तस्कर र दलालहरुले लुटको स्वर्ग बनाउन छुट दिएको आरोप लगाउ“दै केपी ओली नेतृत्वको वर्तमान सरकार असफल भएको पनि उनले बताए ।
त्यसैगरी खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आर के खम्बुले वर्तमान संविधान नेपाली जनता र आदिवासी तथा जनजातिहरुको चाहना विपरित जारी गरिएको संविधान यथासक्य संशोधन गर्न माग गरे । अध्यक्ष खम्बुले २०७२ साल भदौ ७ गते कैलाली टिकापुरमा घटेको घटना अपराधिक नभई आदिवासीहरुको बिद्रोह भएको बताउदै “कम्युनिष्ट मुकुण्डो ओडेका तानाशाहहरु तिमीहरुले आफूलाई बेलैमा सच्याएनौ भने तिमीहरुको अन्त्यको सुरुवात भएको छ ” भने।

गठबन्धनका अन्य वक्ताहरुले दश वर्षे जनयुद्ध र जन आन्दोलनबाट नयां संविधान बने पनि उल्टै संविधानको कार्यान्वयनको नाममा जनविरोधी ऐन, कानून बनाएर सदियौंदेखि उत्पीडनमा पारिएका जाति वर्ग लिङग क्षेत्रका जनभावनालाई उपहास एवं उपेक्षा गरिएको आरोप लागाउ“दै यसको संशोधन गर्नु पर्ने धाराणा राखे ।
पत्रकार सम्मेलनमा उनिहरुले राज्यको पुनरसंरचना गर्दा प्रदेशको नामांकन तथा सिमाङ्कन पहिचान र सामर्थ्यका आधारहलाई टेकेर बन्नुपर्ने अवस्थामा जनभावना विपरित सत्ता, पद, कुर्सीका लागि पल्केका पहिचान विरोधी केही शासक नेताहरूको स्वार्थ अनुकुल सात प्रदेश लादिएको भन्दै आक्रोश व्यक्त गर्दै अब राज्यपुनर्संरचना गर्दा पहिचान सहित १० +१ (एघार) प्रदेश बन्नाउन आन्दोलन गर्ने बताए ।

प्रेस वक्तव्यमा भनिएको छ ‘वर्तमान केपी ओली नेतृत्वको सरकार राष्ट्रिय गौरवका योजना, विकास निर्माण, पूर्वाधार तथा जनहितकारी कार्य गर्न छोडेर सत्ता पद कुर्सी लोलुपतामा राजनीतिक फोहरी खेलका गेम्लर खोक्रो आडम्बरी क्रान्तिकारी राष्ट्रवादको ठुलठुला हावादारी गफ दिदै जनमतलाई अबमुल्यन गर्दै भ्रष्टाचारीहरुको संरक्षक बन्दै छन् । सरकारले निर्मला हत्याकाण्ड, ३३ किलो सुनकाण्ड, होली वाइन, वाइडबडी बिमान खरिद प्रकरण, एनसेल लाभान्स कर छली काण्ड, बुढी गण्डकी (गेजुवा), मेलम्ची (सिएमसी) काण्ड, ललिता निवास काण्ड, गुठी विधेयक, यती होल्डिङ कम्पनीलाई गोकर्ण रिसोर्टको जग्गा लिज काण्ड, एमसिसी, सेक्युरिटी प्रेस खरिद टेप काण्ड आदि काण्डै काण्डको इतिहास रच्दै । सरकारले यी विभिन्न काण्डमा संलग्न तथा सरोकार राख्ने आप्mना भ्रष्ट मन्त्री, सांसद, नेतालाई संरक्षण गर्ने अशोभनीय एवं निन्दनीय कार्यहरु गर्दै आइरहेकोले यसको औचित्य समाप्त हुदैछ ।’
पत्रकार सम्मेलनमा पहिचानमा आधारित संघीय गठबन्धमा आवद्ध नेपाः राष्ट्रिय पार्टी केन्द्रीय समिति अध्यक्ष डा. विजय प्रकाश सैजु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च केन्द्रीय समिति अध्यक्ष कुमार लिङ्देन (मिराक), नेपाल लोकतान्त्रिक पार्टी केन्द्रीय समिति अध्यक्ष भानुराम थारु,खसान राष्ट्रिय संघर्ष समिति केन्द्रीय समिति संयोजक प्रेम बहादुर खाती,तराई मधेश राष्ट्रिय परिषद् केन्द्रीय समिति संयोजक सरोज राय,नेपाल राष्ट्रिय परिषद् केन्द्रीय समिति संयोजक अशोक मर्हजन,मगरात संघर्ष समिति केन्द्रीइ समिति संयोजक राम मगर लगायत सबैले सरकारले आफ्ना मागहरु पुरा नगरे दशै तिहार तथा छटपछि कडा आन्दोलनमा जाने बताएका छन् । पत्रकार सम्मेलन मार्फत प्रचारात्मक कार्यक्रमदेखि टिकापुरा घटना भएको दिन भदौ ७ गतेलाई देशव्यापी आदिवासी बिद्रोहका दिनकारुपमा मनाउने र असोज ३ गते संविधान जलाउनेसम्मको दुई महिने कार्यक्रम घोषणा गरेका छन् ।

LEAVE A REPLY