आजकोकुरा: भाद्र ६ , काठमाडौं ।
चर्चित कवि तथा गीतकार अमर बान्तुको ‘परिभाषाका राँटाहरु ‘ पुस्तकबाट एक कविता आजकोकुरा डटकममा।
‘ बाध्यताको प्रदेश ‘
मेरो परिधिभन्दा धेरै पर
लाखौँ क्षितिजभन्दा अलिक वर
आँधिबिच बलिरहेका आस्थाका दिपहरु
हरेक साँझ-बिहान
डालोको डालो आशाहरु टिप्दै
अनिदा रातहरुसंगै निराशाहरु घोप्ट्याउँदै
अनिश्चित बिन्दुसम्म आशा र निराशाको दोछायाँ
परिस्थिति र बाध्यताको दुइ किनारामा अडिएको
अफसोच।
एक बेसहारे जिन्दगि।
उनका आशाभित्र नअटाएका मेरा उद्देश्यहरु
सपनालाई ढोका दिने खल्लो उनका बिपनिहरु
मिठो संगीत बनेर आउने मेरा तोतेबोलिहरु
चस्का बन्दै घोच्ने मेरा बेढङ्गे बामे सराइहरु
समयले बनाएका कान्ले गालाहरुमा।
हराउँदै सम्झनाका बाढिहरु
लम्पसार उही बाटाहरुमा
हरेक साँझ-बिहान उस्तै निराशाहरु
नि:शब्द आशाका कुण्ठाहरु ।
धाउँदाधाउँदै पुग्न नसकिने
जाँदाजाँदै भेट्न नसकिने
परिधिबिनै तन्किएको यात्रा
पत्तैबिना च्वाट्टै चुटिन सक्छ
समय हराएको घडि
टङ-टङ बेमतलबी ठोकाई
निस्सार अनिश्चित यात्रा
एउटा पश्चातापको गन्तव्य।
