दलहरुलाइ आफ्ना संरचनालाई संघीय बनाउन निर्वाचन आयोगको आग्रह

आजकोकुरा: असोज १३, काठमाडौं । संविधानसभाबाट नयाँ संविधान जारी भएसँगै देश संघीय संरचना गएको ५ वर्ष भइसकेको छ तर त्यही संविधान जारी गर्ने राजनीतिक दलहरुले भने आफ्ना संरचनालाई अझैसम्म संघीय बनाउन सकिरहेका छैनन् ।

दलहरूले संविधान अनुसारका संरचना बनाएको विवरण प्राप्त नभएको भन्दै यसप्रति निर्वाचन आयोगले उनीहरूलाई ध्यानाकर्षण गराएको छ ।
आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख लक्ष्मीप्रसाद गौतमका अनुसार राजनीतिक दलहरू संघीयता अनुसारका संरचनामा किन भएनन् भनेर सोधिएको छ ।

आयोगले साउन २५ गते स्मरण पत्र लेखेर दल र पदाधिकारीको विवरण अभिलेखीकरण गर्न प्रदेश समितिका पदाधिकारीको विवरण प्रदेश राजधानी रहेको जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा उपलब्ध गराउन आग्रह समेत गरेको छ । जिल्ला र स्थानीय तहको समितिका पदाधिकारीको विवरण जिल्ला निर्वाचन कार्यालयमा पठाउन भनिएको छ । तरपनि हालसम्म कुनै पनि दलले पार्टीको संघीय संरचनाअनुसारको पूर्ण विवरण आयोगमा बुझाउन सकेका छैनन् ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नयाँ दल दर्ता गर्दा संघका साथसाथै जिल्ला र प्रदेशको संरचनागत विवरणलाई अनिवार्य गरिएको वताए ।

यसअघि नै दर्ता भइसकेका दलहरूलाई मात्रै संघीय संरचनाअनुसारको विवरण माग गरिएको छ ।

LEAVE A REPLY