डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो: प्रधानमन्त्री ओली

आजकोकुरा:असोज ३ ,काठमाडौं । संविधान दिवसको अवसरमा शनिबार टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा सरकारको काम उत्साहजनक भएको बताएका छन् । कोभिड-१९ संक्रमण नेपालमा देखिनु अगाडि र अहिले उपचार पूर्वाधार तथा क्षमतामा आकास र जमिनको फरक रहेको उनले दावी गरेका छन् ।

उनले महामारीलाई सरकारले चुनौतीका रुपमा नभई अवसरको रुपमा लिएको र बजेटमार्फत स्वास्थ्य पूर्वाधार खडा नगर्ने योजना कार्यान्वयनमा ल्याएको बताउदै ‘ डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो, तर महामारी नियन्त्रणका लागि चालिएका कदमहरुको समिक्षा गर्ने हो भने अहिलेसम्मको कामको तस्वीर उराठलाग्दो होइन, उत्साहजनक देखिन्छ’ भने ।

प्रधानमन्त्री ओलीले ९ माघ २०७६ मा कोभिड-१९ को पहिलो केस पहिचान हुँदा पिसिआर परीक्षण देशभित्रको प्रयोगशालामा सम्भव नभएर नमूना विदेश पठाउनु परेको तर अहिले देशभर ४७ आरटी-पिसिआर परीक्षण प्रयोगशाला सञ्चालनमा रहेको बताउदै ‘ परीक्षणको दैनिक क्षमता २३ हजार ५०० भन्दा माथि छ ‘भने ।

यसैगरी जनसंख्याको कम्तिमा २ प्रतिशतमा पीसीआर परीक्षण गर्ने हाम्रो अनुमानित प्रतिबद्धता पूरा भएको ,आईसीयू बेड क्षमता १५५१ बाट २६०० र भेन्टिलेटर ७७० बाट ९०० पुर्‍याइएको पनि उनले बताए ।

त्यस्तै प्रधानमन्त्री ओलीले ‘पहिले जिल्ला अस्पताल रहेका स्थानीय तहमा मात्रै अस्पताल सेवा उपलब्ध थिए, अहिले बाँकी ६४९ स्थानीय तहमा ५ बेडको अस्पताल निर्माणको व्यवस्था गरिएको छ । प्रदेश सरकार र अस्पतालहरुलाई आवश्यक पूर्वाधार, स्वास्थ्य सामग्री, मानवीय तथा वित्तीय स्रोतको व्यवस्था गरिएको । स्वास्थ्य मन्त्रालयअन्तर्गत १०० जना पोष्ट ग्रेजुयट चिकित्सक परिचालन गर्ने तयारी पूरा भएको छ । २५ हब अस्पताल र २० शिक्षण अस्पतालमा विशेषज्ञ चिकित्सकको नेतृत्वमा तुरुन्तै परिचालन गर्न सकिने टीम तयारी अवस्थामा छ’ भने।

साथै ,प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्न नदिने बताउदै भ्रष्टाचारविरुद्ध बोल्दा ‘मुखमा पानी नहाल्ने’ पनि प्रतिबद्धता गरे ।

LEAVE A REPLY