जवरजस्ती करणी मुद्दा चलिरहँदा सिद्धबाबा गिरी सुरक्षा संयन्त्रलाई झुक्याएर भारत गए

आजकोकुरा: माघ ९ , विराटनगर । जवरजस्ती करणीको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी सुरक्षा संयन्त्रलाई झुक्याएर सुटुक्क भारततर्फ गएका छन् ।विराटनगर उच्च अदालतमा उनिविरुद्धको मुद्दाको सुनुवाइ चलिरहेका बेला सुरक्षा गार्ड फिर्ता गरेर भारततर्फ गएका हुन् ।

बिहीबार उनीविरुद्धको मुद्दाको पेसी उच्च अदालत विराटनगरमा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासमा चलिरहेका बेला नै गिरी सुरक्षा संयन्त्रलाई झुक्याएर भारत पुगेका हुन् ।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनी दिउँसो करिब १ बजे भारततर्फ लागेका हुन् । रानीबाट दक्षिणतर्फ लागेका सिद्धबाबा कहाँ गए भन्ने केही जानकारी नभएको मोरङका डिएसपी लोकदर्शन थापाले बताए ।
सुनसरी चतरास्थित आश्रमबाट विराटनगर जाने भन्दै हिडेका गिरीमाथि प्रहरीले सामान्य निगरानी राखेको र उनको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले एक हवल्दारलाई खटाएको छ ।

हवल्दारसहित सीमावर्ती क्षेत्र रानी हुँदै भारतीय बजार जोगवनी पुगेका उनले सुरक्षागार्ड नेपाल प्रहरीका हवल्दार मुकेश साहलाई फिर्ता पठाएर भारततर्फ लागेका हुन् । ग १ च ८१५७ नम्बरको पजेरो गाडी चढेर उनी जोगवनी हुँदै दक्षिण तर्फ लागेका छन् ।

सिद्धबाबाका अनुयायीहरुले भने सिद्धबाबा उपचारका लागि दिल्ली गएको बताएका छन् ।

LEAVE A REPLY