चीनद्वारा भूमि मिचेको छैन भन्ने सरकारको प्रतिक्रियालाई हतारको संज्ञा :कांग्रेस

आजकोकुरा : असोज ८,काठमाडौं । चीनद्वारा हुम्लामा नेपाली भूमि मिचेको छैन भन्ने सरकारको प्रतिक्रियालाई प्रमुख विपक्षी नेपाली कांग्रेसले हतारको संज्ञा दिएका छन् ।

हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको खबर आएपछि सरकारले खण्डन गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन भनेका थिए ।

तर यसमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै स्थलगत अध्ययनको विवरण आउनु पूर्व नै ‘सीमा मिचिएको छैन’ भनेकोमा पार्टीको ध्यानाकर्षण भएको बताएका छन् ।

उनले ‘प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेना समेतको टोलीको स्थलगत अध्ययन जारी रहँदै, स्थलगत भ्रमण पूरा गरेर सदरमुकाम फर्कनुपूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत देखिएन’ भनेका छन् ।

यसबारे अध्ययन टोलीले ११ नम्बर पिल्लर बुधबार मात्रै भेटेको र चीनले निर्माण गरेको संरचना १२ नम्बर पिल्लरबाट बाहिर या भित्र भनेर अध्ययन टोलीको स्थलगत अध्ययन निष्कर्षपछि सीमा मिचिएको हो/होइन भन्ने बारे निष्कर्षमा पुग्न सकिने स्थितिलाई सरकारले हेक्का नराखेको पनि कांग्रेसले बताएको छ ।

पार्टीका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही अध्ययनकै क्रममा रहेको छ भन्दै कांग्रेस प्रवक्ता शर्माले ‘स्थलगत अध्ययनको धारणा आउनु पूर्व नै ‘सीमा मिचिएकै छैन’ भनेर ठोस अध्ययनको आधार बेगर धारणा सार्वजनिक गर्नु परराष्ट्र मन्त्रालयको कमजोरी रहेको हाम्रो ठहर छ’ भनेका छन् ।

साथै विज्ञप्तिमा स्थलगत अध्ययन टोली सदरमुकाम फर्किएपश्चात सीमा मिचिएको ठहर भए चीन सरकारसमक्ष कडा विरोध जनाउँदै संवादको कूटनीतिक प्रक्रियामार्फत् समाधानमा पुग्न सरकारलाई प्रतिपक्षी दलका तर्फबाट सचेत गराउने उल्लेख रहेको छ ।

LEAVE A REPLY