चर्चित गीतकार तथा कवि सुशीला पौडेलको एक कविता ‘साथ ‘

आजकोकुराःजेठ २ काठ्माण्डौ ! नेपालि साहित्यमा एक परिचित नाम हो सुशीला पौडेल ! उनले गीत, गजल, कविता ,मुक्तक,उपन्यास र आख्यान बिधामा गतिलो तवरले कलम चलाउदै आइरहेकि छिन् !बि.स. २०३८ वैशाख ,सर्लाहीमा जन्मिएकि सुशीलाको बि.स.२०५३मा स्थानीय पत्रिकामा प्रकाशित ‘गोलसिमल’ गीत बाट साहित्यतिर यात्रा शुरुवात भएको हो !

स्नातकोत्तर सम्म अध्ययन गरेकि उनको प्रकाशित कृतिहरु ‘संसार ,उमंग‘ गीतिसंग्रह, ‘हैसियत ‘ संयुक्त गजलसंग्रह, ‘ई प्रतिनिधि गजल ‘ संयुक्त गजलसंग्रह र उनको ‘तृषा ‘ गत वर्ष मात्रै प्रकाशित उपन्यास रहेको छ ! साथै अन्य उनको करिव तीन दर्जन गीत रेकर्ड र लेख रचना प्रकाशित समेत भैसकेको छ !

सवै संग मिलनसार रहने अनि संघर्षसिल व्यक्तिको रुपमा पनि छुट्टै परिचय बनाउन सफल व्यक्ति सुशीला पौडेल गीतकार संघ नेपाल सचिव,हाम्रो मझेरी साहित्य प्रतिष्ठान आजीवन सदस्य,सर्लाही साहित्य समाज आजीवन सदस्य,प्यास राष्ट्रिय गजल पत्रिका आजीवन सदस्य,विश्व नारी साहित्य सम्मेलन जिल्ला अध्यक्षमा आवद्द रहेर सक्रिय पनि छिन् !

उनले विश्व नारी साहित्य सेवा पदक ,कपन जेसीस सम्मान , छायाछवि सम्मान , नोवेल उत्कृष्ट कविता पुरस्कार प्राप्त गरिसकेकि छिन् !

माया,प्रेम,भावनामा रहेर जिवनलाइ सर्लक्कै दर्पण जसरि साहित्य सिर्जनामा उतार्ने आज उनै चर्चित गीतकार,कवि तथा साहित्यकार सुशीला पौडेलको ‘साथ ‘शिर्षकको एक कविता आजकोकुरा डटकममा प्रकाशित गरेका छौ !

‘साथ ‘
– सुशीला पौडेल
मेरै वैरी भा ‘को छु
मनले मलाई श्रापी रहेछ
कैदी बनाएको आरोप आउँछ
हिम्मत नभएको भन्दै गिज्याउँछ ।
तनले आफ्नो रोष पोख्छ
ध्यान नदिएको,स्यहार नगरेको भन्छ
दुनियाँको सामु आफ्नु ठाउँ नबनाएको भन्छ
समय अनुसार नचलेको भन्दै मुरमुरिन्छ ।
आँखा रिसाएर उस्तै छ हेर्दिन भन्छ
सुन्दर दृश्यपान नगराएर भोकै भएँ भन्छ
थोत्रे झुत्रे अक्षरदेखि वाक्क भएँ भन्छ
जोश जागर केही नभएको भन्दै चिढिन्छ ।
कानले पनि अचेल कोल्टे फेर्न थाल्यो
सधैं सुन्ने मेरा सिर्जना फोस्रो मान्न थाल्यो
सुरिलो मिठो केही नसुनाएको भन्छ
झर्को लाग्ने कविता कति गाएको भन्छ ।
मेरा अंग प्रत्यङ्ग सबै वैरी बने पनि
मलाई तथानाम गाली भने पनि
म सुखी छु म खुसी छु
मेरो अक्षरले मलाई साथ दिन्छ
ऊ झर्किदैन,रिसाउँदैन
मेरो मौनता बुझ्छ
शब्दले मलाई स्पर्श गर्छ
वाक्यले मेरो हर दु:ख मेटाउँछ
पंक्तिले मलाई हौसला दिन्छ
अनुच्छेदले बाँच्न सिकाउँछ ।
त्यसैले मेरो तन मन अंगका
गुनासाहरु सबै व्यर्थ लाग्छन
जबसम्म अक्षर छ तबसम्म
म जीवित छु ,मेरो श्वास छ
अक्षरको साथ नछुटोस यही चाह छ!
अक्षरको प्रीति नछुटोस यही चाह छ ।

LEAVE A REPLY