अस्पतालको लापरबाहीले जिउदोलाइ मरेको भनियो

आजकोकुरा: जेठ ७, काठमाडौं । गुल्मीको मदाने गाउँपालिकाका ४१ वर्षीय शिक्षक रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा कोरोना भाइरसका कारण मृत्यु भनिएकोमा उनी जिवितै रहेको समचार छ ।
उच्च ज्वरो आएर १ गते भर्ना भएका उनलाई अहिलेसम्म भेन्टिलेटरमा राखिएको छ । उनको पीसीआर चेक गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।
उनलाइ जब कोरोनाको रिपोर्ट पोजेटिभ आयो तब दुई दिनयता चिकित्सकहरु उनको छेऊ पर्न छाडेका थिए । भेन्टिलेटरमा राखेको दुई दिनपछि अस्पताल प्रशासनले प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराललाई सम्पर्क गरेर उनको कोरोनाबाट मृत्यु भयो भन्दै शव कहाँ व्यवस्थापन गर्ने भनेर सोधेको थियो ।

यसरी अस्पतालबाट प्राप्त सोही सूचनाका आधारमा मन्त्री बरालले कोरोना संक्रमितको मृत्यु भएको सूचना मिडियालाई दिएका थिए । साथसाथै मन्त्री बरालले कोरोना संक्रमितको शव व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न अस्पताललाई नै भनेका थिए ।
यसरी कोरोना संक्रमितको मृत्यु भएको खबर बुधबार बिहानै गुल्मीस्थित आफन्तजनसम्म पुग्यो ।अस्पतालका सञ्चालक दूर्गा पाण्डेलाई विभिन्न सन्चारकर्मिले सम्र्पक गरेर सोध्दा उनले संक्रमितको मृत्यु भएको नै भनेर ‘पुष्टि’ गरेका थिए ।
यसरी भेन्टिलेटरमा दुई दिनदेखि अलपत्र बिरामीको ‘शव व्यवस्थापन’ तिर लागिसकेको क्रिमसन अस्पताल प्रशासनले नै बुधबार दिउँसो एकाएक बिरामी जीवितै रहेको विज्ञप्ति जारी गर्‍यो ।जीवित व्यक्तिबारे झूठो विवरण दिने? भन्दै सामाजिक विकास मन्त्रीले अस्पतालमा फोन गरेर तुरुन्त विज्ञप्ति जारी गर्न भनेका थिए ।
प्रदेस  सरकारलाई झूठो विवरण दिने अस्पताल प्रशासनमाथि मन्त्रालयले थप छानविन गर्ने बताइएको छ ।
ती बिरामीको स्थिति भने गम्भीर रहेको अस्पताल प्रशासनले स्वीकार गरेको छ ।

(अस्पतालको गलत सुचनाका आधारमा भ्रामक न्युज परेको प्रती हामी आजकोकुरा डटकम पनि क्षमा माग्दछौ ।)

LEAVE A REPLY