अब एसिड छ्यापे २० वर्ष कैद, मन्त्रिपरिषद्‍बाट अध्यादेश पारित

आजकोकुरा : असोज ९, काठ्माण्डौ । एसिड छ्यापेर कसैलाई घाइते वा शरीरमा क्षति पुऱ्याए अब २० वर्ष कैद सजाय हुने गरी मन्त्रिपरिषद्बाट अध्यादेश पारित भएको छ ।
साउन पहिलो साता काठमाडौंको बाफलमा ओखलढुंगाकी पवित्रा कार्कीमाथि एसिड प्रहार गरिएपछि अभियुक्तविरुद्ध कडा कानुनी कारबाही हुनुपर्ने माग उठेको थियो ।
एसिडको दुरुपयोग साथै यसबाट हुने अपराधसम्बन्धी छुट्टै अध्यादेश पारित गर्दै एसिड छ्यापेर यदि कसैको मृत्यु भएमा जन्मकैद र घाइते, अंगभंग वा शरीरका कुनै अंगमा क्षति पुऱ्याए २० वर्ष कैद र १० लाख क्षतिपूर्ति समेत भराउने गरी मन्त्रिपरिषद्ले अध्यादेश पारित गरेको ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुङ्बाहाम्फेका अनुसार अध्यादेश शुक्रबार नै राष्ट्रपतिबाट जारी भई राजपत्रमा प्रकाशित गरिने छ । उनले ‘एसिड अपराधविरुद्ध कठोर कानुनी व्यवस्थासहितको अध्यादेश बिहीबार मन्त्रिपरिषद् बैठकले पारित गरेको छ ,अध्यादेश आजै राष्ट्रपतिमार्फत् प्रमाणीकरण भई राजपत्रमा प्रकाशित हुन्छ ‘ बताइन् ।

मुलुकी अपराध संहिता ऐन–२०७४ अनुसार एसिड प्रहारबाट कसैको मृत्यु भएमा जन्मकैद र घाइते, अंगभंग भए अधिकतम ८ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । त्यस्तै एसिड प्रहारसम्बन्धी कसुरमा अभियुक्तविरुद्ध ज्यान मार्ने उद्योगमा पनि सजाय हुन सक्ने व्यवस्था छ । ज्यान मार्ने उद्योगमा अधिकतम १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । यसमा यी दुवै कानुनी प्रावधान कमजोर भएको भन्दै सरकारले अध्यादेशमार्फत् एसिडसम्बन्धी छुट्टै कानुन बनाउन लागेको हो ।

नयाँ कानुनअनुसार एसिड अपराधमा संलग्नलाई कसुरको नेगेटिभ सूचीमा राखेर सजाय माफी मिनाहा नहुने व्यवस्था गरिएको छ ।

नयाँ कानुनमा आक्रमणकारीको सम्पत्ति रोक्का राखेर पीडितलाई क्षतिपूर्ति भराउने प्रावधान पनि छ । एसिड बिक्रीवितरणमा जिल्ला प्रशासनबाट लाइसेन्स लिनुपर्नेलगायतका व्यवस्था गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २५ गते सरोकारवाला निकाय, एसिड पीडित, अभियन्तासँग एसिड अपराधविरुद्ध कठोर कानुन बनाउने प्रतिबद्धता जनाएका थिए ।

LEAVE A REPLY