अग्रजको खुट्टा समाएर मुख्यमन्त्रीले ढोगेपछि

आजकोकुरा: फागुन २५, लमजुङ ! शनिबार भने फरक दृश्य देखिएको थियो  ।बेंसीसहर–७ मा गाउँगाउँबाट झरेर मनाङे चौतारा क्षेत्रमा बस्दै आएका गुरुङ समुदायको सामुदायिक भवनको उद्घाटनमा उपस्थित थिए गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ । सो भवन निर्माणमा बढी आर्थिक सहयोग गर्नेलाई सम्मान कार्यक्रम रहेको थियो । आर्थिक सहयोग अधिकतम गर्ने ८२ वर्षीया मनकली गुरुङलाई सम्मान गर्न आयोजकले मुख्यमन्त्री गुरुङलाई आग्रह गर्दा उनी मञ्चबाट नै तल झर्दै मनकलीको खुट्टा समाएर ढोगे । तर, मनकलीले मुख्यमन्त्रीलाई चिनिनन् । यसमा सहयोगीले परिचय गराएपछि ‘अझै ठूलो मान्छे बन्नू’ भनी गुरुङ भाषामा मुख्यमन्त्रीलाई आशीर्वाद दिइन् ।
मुख्यमन्त्री गुरुङलाइ शुभचिन्तकहरूले ‘नमस्कार फर्काउँदैनन् ’भन्ने पनि गरेका छन् ! तर,यस माहोलले साच्चै उनको प्रसंशा गरेको थियो !‘मुख्यमन्त्रीले अहिले ढोग्न थाल्नुभएछ । हुन त यो हाम्रो परम्परा हो । उहाँ पहिले यस्तो हुनुहुन्थेन,’ क्व्होलासोंथर गाउँपालिका अध्यक्ष प्रेम घलेले भने ।
तमु प्ये ल्हु संघ लमजुङका अध्यक्ष मिलबहादुर गुरुङका अनुसार गण्यमान्य तथा आफ्ना आफन्त र नातेदारलाई साइनोअनुसार ढोग्ने गुरुङ समुदायको संस्कार हो । नत्र ‘मात्तिएको’ भनिन्छ । उनले भने, ‘मुख्यमन्त्रीले राम्रो गर्नुभयो । अझ सार्वजनिक कार्यक्रममै ढोग्नु उहाँको आफ्नोपन हो ।’
यसैगरी सो कार्यक्रममा बेसीसहरको नाल्मा घर भई बेलायत बस्दै आएका पूर्वबेलायती सैनिक लिलमान गुरुङ र उनकी पत्नी राजकुमारीलाई मुख्यमन्त्रीले उसैगरी ढोगे । राजकुमारीले ‘नढोग्नू, भयो’ भन्दै मुख्यमन्त्रीको हात समाइन् । बेलायती सेनाका भूपू क्याप्टेन मीनजंग गुरुङ र पत्नी मनकुमारी गुरुङलाई पनि मुख्यमन्त्रीले ढोगे । सार्वजनिक कार्यक्रममै वृद्धवृद्धालाई मुख्यमन्त्रीले ढोग्दा फोटो खिच्नेको भीड लाग्यो । दर्शकदीर्घबाट तालीको गड्गडाहट सुनियो ।
८१ लाख ५ हजार ५ सय ३५ रुपैयाँमा बनेको भवनमा प्रदेश सरकारको ४० लाख अनुदान छ । कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले पुराना संस्कारलाई परिमार्जित रूपमा लैजान सुझाव दिएका थिए  ।

LEAVE A REPLY